बाँके । ग्याँस लुकाएर राख्ने नेपालगञ्जका एक व्यवासायीलाई ५० हजार जरिवाना गरिएको छ । ग्याँसको अभाव भए–नभएको अनुगमन गर्न निस्किएको बजार अनुगमन समितिले नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसलमा ग्याँस लुकाएर राखेको भेटिएपछि व्यवसायीलाई कारबाही गरेको हो ।
नेपालगञ्ज–११ त्रिभुवनचोकस्थित शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरले ग्याँस लुकाएर उपभोक्तालाई बिक्री नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार बजार अनुगमनका क्रममा उक्त पसलमा १३ वटा ग्याँस सिलिन्डर लुकाएर राखेको भेटिएको थियो । पहिलो पटकका लागि चेतावनीसहित ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
यसरी ग्याँस सिलिन्डर लुकाएर राखेको पाइएपछि प्रचलित व्यवस्थाअनुसार पसललाई ५० हजार जरिवाना गरिएको समितिले जनाएको छ ।
