दाङ । घोराही-लमही सडकअन्तर्गत मसोटखोला पुलको बिम चर्किएपछि भाँचिने जोखिम बढेको छ । अत्यधिक भार बोकेका सवारीसाधनका कारण पुलमा समस्या देखिएको हो । गत वर्ष साउनमा मर्मत गरिएको उक्त पुलमा फेरि समस्या देखिएपछि मर्मत गर्नुपर्ने देखिएको छ ।
पछिल्लो समय सिमेन्ट उद्योगलगायतका लागि चुनढुंगा बोक्ने टिप्परलगायत क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन हुँदा पुल चर्किएपछि २०८२ साउनमा मर्मत गरिएको थियो । मर्मतपछि केही समय पुल सुरक्षित भएपनि अहिले पुनः मर्मत गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्र विष्टले बताए ।
पुल सेक्टर कार्यालय, नेपालगञ्ज र सडक डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले पुलको प्राविधिक जाँच गरिसकेको छ । जाँचपछि तत्काल पुल मर्मत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वान गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
चार दशकअघि २०३८/३९ सालमा निर्माण भएको पुल तत्कालीन द्वन्द्वका क्रममा २०६२ साल फागुनमा माओवादीले बम विस्फोट गराउँदा क्षतिग्रस्त भएको थियो ।
