Indrenionline.com

एक वर्षसम्म नयाँ सरकारी कर्मचारी भर्ना नलिने

काठमाडौं । सरकारले यस वर्ष निजामती सेवामा नयाँ भर्ना नलिने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार भएको सचिव बैठकले चालु आर्थिक वर्षमा कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहेका लाखौं युवाहरू प्रभावित हुने भएका छन् ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवालाई माग नगर्ने निर्णय गरेको छ । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणले विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले हाललाई लोकसेवा आयोगमा माग नगर्ने निर्णय भएको हो ।

लोकसेवा आयोगले निजामतीतर्फ विभिन्न तह र पदका वार्षिक रुपमा ३ देखि ४ हजार पदको विज्ञापन निकाल्दै आएको थियो । तर सरकारको यो निर्णय गरेपछि यस वर्ष लोकसेवा आयोगले विज्ञापनमार्फत पद पूर्ति गर्न पाउने छैन ।