काठमाडौँ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले बीउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सिस्मत पोखरेलले ुबीउबिजन ण्पहिलो संशोधन) नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय गरेको बताए ।
बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने र मिटरब्याज पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
