काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा शुक्रबार राति ६१ सुकुम्बासी परिवारका करिब दुई सय सदस्य मस्त निद्रामा थिए ।
मध्यरातिदेखि ओइरिएको मुसलधारे पानीले बागमती उर्लियो, एक घण्टामै ‘होल्डिङ सेन्टर’ जलमग्न बन्यो । धन्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबै वेलैमै बाहिर निस्किएर ज्यान जोगियो । भिजेका उनीहरू आश्रमको मूल गेटमा काँप्दै उभिएर रात कटाए । उद्धार गर्न भन्दै नेपाल प्रहरी र महानगर प्रहरीको टोली शनिबार बिहान मात्रै पुग्यो ।
सुकुम्बासीलाई स्थायी बासको व्यवस्था मिलाउने आश्वासन दिएर सरकारले थापाथलीलगायत खोलाछेउका उनीहरूका टहरामा डोजर लगाएको थियो । स्थायी बासको व्यवस्था नगरुन्जेलका लागि भन्दै काठमाडौंका कीर्तिपुर र इचंगुनारायण, भक्तपुरको खरिपाटी र बोडे तथा काभ्रेको बनेपामा ‘होल्डिङ सेन्टर’मा राखेको थियो । तर, पछि प्रतिपरिवार २५ हजार एकमुस्ट र मासिक १५ हजारका दरले तीन महिनासम्म दिने निर्णय गरेर होल्डिङ सेन्टर छाड्न दबाब दिइरहेको थियो ।
कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका ६५ परिवारमध्ये पाँच परिवार कोही कोठा खोजेर, त कोही आफन्तकहाँ गएर बस्न थालेका थिए नयाँ पत्रिकामा खबर छ। कोठा नपाएका र सरकारी रकमले गुजारा चलाउन नसक्ने हालतका ६० परिवार खोलाछेउमै रात कटाउँदै थिए । सरकारले बस्तीमा डोजर लगाउँदा जोगाएका अलिअलि लत्ताकपडालगायत सरसामान पनि शुक्रबार रातिको बाढीले नास गर्यो ।
