Indrenionline.com

गणेश नेपाली आत्मदाह प्रकरण : सरकारले मृत्युको जिम्मा नलिदासम्म शव नबुझ्ने परिवारको अडान

काठमाडौँ । गएको विहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आफैंलाई आगो लगाएर उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ । घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ ।

शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताए । सरकारबाट प्रस्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ । सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन् ।

महानगर प्रहरीले नेपाली चढेको मोटरसाइकलमा ह्विल लक लगाएपछि उनले आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । नेपालीको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको थियो ।