Indrenionline.com

नर्वेलाई हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा

काठमाडौं । नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै थॉमस टुचेलको टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको सुरुवाती चरणमा दुवै टोली संयमित देखिए पनि ३६औँ मिनेटमा नर्वेले अग्रता लियो। एर्लिङ हालान्डको प्रहारलाई इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले विफल पारे पनि त्यसको लगत्तै एन्ड्रियास श्जेल्डेरुपले क्रस(शटमार्फत गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए। तर, पहिलो हाफको इन्जुरी समय (४५ं२ मिनेट) मा जुड बेलिङ्घमले उत्कृष्ट एकल प्रयासमा गोल गर्दै इङ्गल्याण्डलाई खेलमा फर्काए।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको ९३ औँ मिनेटमा मोर्गन रोजर्सको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर न्यल्यान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्। सोही रिबाउन्ड बलमा छिटो प्रतिक्रिया जनाउँदै बेलिङ्घमले क्लोज-रेन्जबाट गोल गरी इङ्गल्याण्डको जित सुनिश्चित गरे। योसँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ।