काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आज चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदैछ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ।
आज दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नेछन्।
महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन पुगिसकेका छन्। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ।
जसका लागि असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रास्वपा नेता अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिएका छन्। महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ।
