कैलाली । वनको जग्गा अतिक्रमण गरेको भन्दै एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा पक्राउ परेका १२ जना मध्ये दुई जनाविरुद्ध मुद्दा चलेको छ ।
वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अन्य १० जनालाई भने रिहा गरिएको छ । गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए।
टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डिभिजन वन कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उक्त टेम्पो काम नलाग्ने कवाड भएको र सोलाई व्यवस्थापन गर्न खोज्दा भिरालो भौगोलिक अवस्थाका कारण भिरबाट खसेको बताएको थियो । भिडियो भाइरल भएपछि वनका १२ जना कर्मचारी पक्राउ परेका थिए । तर भिडियोमा कर्मचारीहरुले धकेलेरै टेम्पो भिरबाट खसालेको देखिन्छ । यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
