सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद्को बैठकबाट प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन यो नीति स्वीकृत गरेको हो । ‘लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति–२०८३’ स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीति अनुरूप कार्ययोजना कार्यान्वयन हुने छ ।
कर्णाली प्रदेश सरकारले सोही नीति अनुसार नै आगामी आवका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठका अनुसार राउटेमाथि बाह्य समुदायबाट असुरक्षा बढ्दै गएपछि उनीहरूको कला संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको हो ।
पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप हुदै जाँदा समुदाय नै असुरक्षित बन्न थालेपछि सरकारले एकीकृत नीति बनाएर संरक्षण गर्न लागिएको जनाएको छ ।
