बाँके । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताएका छन् ।
अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको थापाले बताए । केही दिन यता नेपालगञ्जको तापक्रम निकै बढेको छ । तातो हावा (लु) ले जनजीवन प्रभावित भएको छ ।
