Indrenionline.com

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताएका छन । उनले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन ।

लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उनले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनमा विशेष ध्यान दिइने बताए ।

उनले लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । समाज परिवर्तन र विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सिर्जनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।