सत्तामा प्रवेश गरेदेखि केही फरक देखिएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चर्चामा रहे। संसदमा उनको मौनता, गाम्भीर्यता र सरलताले सबैको ध्यान तानेको थियो। उनको यो शैलीले उनीभित्र केही कठोरता रहेको हुन सक्ने अनुमान धेरैले गरेका थिए। उनी संसदमा प्रवेश गर्दा सबैको चासो उनीप्रति बढ्थ्यो। अन्य सांसदहरू संसदको निर्धारित पोशाकमा उपस्थित हुँदा बालेन भने फरक पोशाकमा देखिन्थे। यसले कतिपयलाई संसदीय मर्यादा पालना नभएको आभास दिलाए पनि पोशाक गौण विषय भएकाले यसबारे खुलेर कसैले टिप्पणी गरेको देखिँदैनथ्यो।
जब सरकारले वैशाख २८ गते संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गर्यो, प्रधानमन्त्री बालेनले आफ्नो सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरे। सरकारबाट प्राप्त नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले संसदमा प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन बीचमै उठेर हिँडे। आफ्नै सरकारले तयार पारेको नीति तथा कार्यक्रम पूरा नसुनी हिँडेपछि धेरैका मनमा उनीबारे विभिन्न प्रश्न उठे। उनी कस्ता व्यक्ति हुन्, किन बीचमै हिँडे भन्ने जिज्ञासा बढ्यो। उनको नियतमाथि शंका गर्नेहरूका बीच कानेखुसी सुरु भयो। विभिन्न सञ्चारमाध्यमहरूले पनि उक्त विषयलाई प्राथमिकताका साथ उठाए।
संसदमा प्रतिपक्षी दलका केही सांसदहरूले संसदीय परम्पराको सम्मान गर्नुपर्ने धारणा राखे। श्रमसंस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित नहुनु र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन नआउनुलाई संसदीय मर्यादाको उल्लङ्घन भन्दै संसद बैठक नै बहिष्कार गरे।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै हिँडेका प्रधानमन्त्री बालेन शाहमाथिको शंका, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन नआएपछि झन् बढ्यो। आलोचना मात्र होइन, संसदभित्र विरोधसमेत सुरु भयो। उनको नियतमाथि विभिन्न अड्कलबाजी हुन थाले। आलोचना र विरोधका बीच पनि बालेन संसदमा उपस्थित भएनन्, उपस्थित हुँदा पनि बोलेनन्। यद्यपि, कानुन निर्माणदेखि सुशासन कायम गर्ने विषयमा सरकार केही न केही काम गरिरहेको खबरहरु बाहिरिन्थे । संसदमा बालेनको उपस्थितिको माग बढ्दै गयो।
आइतबारको संसद बैठकमा प्रधानमन्त्री बालेन उठेका प्रश्नहरूको जवाफ दिन तयार भए। पहिलोपटक रोस्ट्रममा उभिएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनलाई ‘पहिलो गाँसमै ढुङ्गा’ लग्यो। लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवादबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले “भारतले मात्र नेपालको सीमा मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्ति दिए। उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना हुनुका साथै कतिपयले उक्त भनाइ सच्याउन सुझाएका छन्।
तर यस विषयमा सत्तारूढ दल रास्वपा तथा स्वयं प्रधानमन्त्री बालेन मौन देखिएका छन्। रोस्ट्रममै उभिएर नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेनले कहाँ–कहाँ र कति भूमि नेपालले मिचेको छ भन्ने तथ्य र प्रमाण प्रस्तुत गर्लान् वा आफ्नो अभिव्यक्ति सच्याउलान्, त्यो भने हेर्न बाँकी छ।
