काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले आइतवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए । उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको छ । यसैबीच संवैधानिक कानुनविद् डा. आचार्यले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति अपेक्षित नभएको बताएका हुन् ।
‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ,’ उनले भनेका छन्, ‘आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन ।’ उनको सरकार प्रमुखबाटै आएको यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकारले चाहँदैन वा सक्दैन भनने कुरा दर्शाएको पनि उल्लेख गरेका छन् ।
