कालीकोट । निला जस्तापाताले छाएको एकैनासका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन् । कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुँगुरखालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान छ । बस्ती रित्तो भएपछि यतिबेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोडौँको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।
वडा नं. ४ को लेखक्षेत्रमा बनेको यो बस्तीमा १४९ वटा घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थासहितको आकर्षक एकीकृत बस्ती छ । प्राकृतिक विपत् र बाढीपहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठुलो सरकारी बजेट खर्चिएर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो ।
किन बसेनन् स्थानीय ?
खेतबारीमा खेती लगाउनुपर्ने, पशुपालन र परम्परागत थातथलो पुरानै गाउँमा छ । जीविकोपार्जनको सङ्कटले यहाँ स्थानीय नबसेको वडाध्यक्ष नन्दराम बोगटीले बताए । सबैको खेती गर्ने ठाउँ तल छ । डाँडामा बस्ती मात्र छ । जोखिम टार्न एकीकृत बस्ती निर्माण गरिए पनि स्थानीय बासिन्दाको आयआर्जनको कुनै विकल्प नभएपछि घरमा ताल्चा लगाएर पुरानै जोखिमयुक्त गाउँमा फर्कन बाध्य भएका हुन् ।
वडाध्यक्ष बोगटीले भने, “बस्तीमा घरहरू त भए तर त्यहाँ खानेपानी, विद्युत्, विद्यालय र स्वास्थ्य संस्था जस्ता न्यूनतम आधारभूत आवश्यकताको भरपर्दो व्यवस्था छैन । विद्यालय बन्यो तर चिसोका कारण विद्यार्थी पढ्न सक्ने वातावरण भएन ।” परम्परागत थातथलो र नयाँ बस्तीबिचको दुरीका कारण दैनिक जीवनयापन कठिन भएपछि स्थानीयले यो ठाउँ छोड्न बाध्य भएको उनको भनाइ थियो ।
नागरिकका आधारभूत आवश्यकता र व्यावहारिक पक्षको न्यूनतम अध्ययनसमेत नगरी हतारमा बजेट सिध्याउने मनसायले यस्ता योजना बन्दा राज्यकोषको दुरुपयोग बढेको आममानिसको बुझाइ छ । तामझामका साथ निर्माण भएको बस्ती अहिले खाली छ ।
विपत्मा परेका विपन्न र जोखिममा रहेका नागरिकको जीवनस्तर सुधार्ने नाममा ल्याइएको एकीकृत बस्तीको अवधारणा, सरकारी अधिकारी र उपभोक्ता समितिको समन्वय अभावका कारण बस्तीको दीर्घकालीन योजना नबनेको स्थानीयको गुनासो छ गोखापत्रमा खबर छ। अहिले सुँगुरखालका यी घर केवल फोटो खिच्न र सरकारी प्रतिवेदनमा प्रगति देखाउनका लागि मात्र जस्तो देखिएको छ । करोडौँको सरकारी लगानी बेवारिसे जस्तै बनेको छ ।
घर राम्रा बनेका छन् तर त्यहाँ बसेर के खाने ? न त नजिकै खेतबारी छ, न त पानीको राम्रो सुविधा छ, न त कुनै आयआर्जन तथा रोजगारीको व्यवस्था नै छ । ज्यान जोगाउन आए पनि भोकै मर्नुपर्ने अवस्था भएपछि हामी पुरानै ठाउँमा फर्कन बाध्य भयौँ, एक स्थानीयले दुःखेसो पोखे ।
