Indrenionline.com

सम्पत्ति छानविनमा तानिएका पूर्वमन्त्री खड्काको भेटियो एक अर्ब भन्दा बढी सम्पत्ति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको छ । स्रोतका अनुसार उनले धेरै सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् ।

चलनचल्तीको मूल्यअनुसार एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएपछि आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ । खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागले पनि उनको सम्पत्ति स्रोतमाथि अनुसन्धान गरिरहेका छन् । तर, पूर्वमन्त्रीको हैसियतमा उनको सम्पत्ति भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान गराए प्रभावकारी हुने निष्कर्षसहित अख्तियारले छानबिन तीव्र पारेको हो । जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान भइरहेको स्रोत बताउँछ । जेन–जी आन्दोलनका क्रममा खड्काको बुढानीलकण्ठस्थित घरमा ठुलो मात्रामा पैसा भेटिएको विवरण सार्वजनिक भएयता नै उनी सरकारी निकायहरूको छानबिन दायरामा छन् । गत १५ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नदेखिएको भन्दै ३ वैशाखमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा उनलाई थुनामुक्त गर्ने आदेश दिएसँगै उनी छुटिसकेका छन् ।

संखुवासभा घर भएका खड्का व्यवसायी पृष्ठभूमिका नेता हुन् । जलविद्युत्देखि होटेललगायत क्षेत्रमा उनको लगानी छ । लाजिम्पाटस्थित नेपाल स्काउटको जग्गा लिजसम्बन्धी विवादमा पनि उनी मुछिएका थिए । व्यवसायबाट कर तिरेर आर्जन गरेकोभन्दा स्रोत नखुलेको सम्पत्ति धेरै भेटिएको आयोग स्रोत बताउँछ । आयोगले आफन्त तथा सहयोगीहरूको नाममा राखेको सम्पत्तिउपर पनि छानबिन गरिरहेको छ ।

अख्तियार स्रोतका अनुसार एक जापानी नागरिकको ठुलो रकम पनि उनले शक्तिको आडमा हत्याएको अनुसन्धानमा खुलेको छ । ‘ती जापानिज नागरिकले धेरैतिर उजुरी गरेको, तर कतैबाट पनि अनुसन्धान नभएको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो ।

खड्कासँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सात महिनाअघि सँगै अनुसन्धान थालेको थियो । देउवा र उनकी पत्नी आरजुविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर, उनीहरू विदेशमा ‘भूमिगत’ छन् । उनीहरूलाई नेपाल ल्याउने नेपाल प्रहरीको प्रयास सफल भएको छैन । नयाँ पत्रिकाबाट