Indrenionline.com

ग्राहकको एक करोड ६५ लाख रकम आफ्नो खातामा ट्रान्सफर गर्ने बैँक कर्मचारी पक्राउ

कपिलवस्तु । ग्राहकको खाताबाट ठूलो रकम आफ्नो खातामा ट्रान्सफर गर्ने बैंकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बैँकिङ र कनेक्ट आइपिएसमार्फत ग्राहकको एक करोड ६५ लाख ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड, तौलिहवा शाखाका कर्मचारी रिशभ कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले मोबाइल बैँकिङ र कनेक्ट आइपिएसमार्फत एक करोड ६५ लाख ट्रान्सफर गरी आफ्नो खातामा लगाएको देखिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा कार्कीले १६ जना ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको पुष्टि भएको छ। कार्की वर्षौँदेखि मेसेन्जरका रूपमा बैँकमा कार्यरत थिए । र अन्य कर्मचारीको विश्वास जितेका थिए। उनले बैँकमा कार्यरत दुई कर्मचारीको पासपोर्ट र आइडी जानकारीको दुरूपयोग गर्दै रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे बैँकको केन्द्रीय कार्यालयले एउटै मोबाइल नम्बरबाट १६ जनाको विवरण देखिएपछि शङ्का लागेर प्रहरीलाई जानकारी गराएको थियो। अनुसन्धानपछि कार्कीले उक्त कार्यमा आफ्नो मात्रै संलग्नता रहेको स्वीकार गरिसकेका छन् ।
घटनापछि बैँकको केन्द्रीय कार्यालयले दुई कर्मचारीलाई निलम्बन गरेको छ भने शाखा प्रमुखसँग स्पष्टीकरण मागिएको छ। बैंक कर्मचारीबाट यस्ता घटना हुने गरेकाले बैँक खाता र मोबाइल बैँकिङ प्रयोगमा सचेत रहन प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ।