Indrenionline.com

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको बताए ।

देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै उनले यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए ।

‘यो ठाउँको महिमा धेरै छ । स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो । यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ,’उनले भने–‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्छ । साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ ।’

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए ।