Indrenionline.com

निर्वाचन आउन एक दिन बाँकी

दाङ । प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको निर्वाचन २०८२ आउन अब एक दिन बाँकी छ । अहिले निर्वाचन आयोगले जारीगरेको ४८ घण्टे मौन अवधि जारी छ । मतदाताहरु निर्वाचनका लागि उत्साहित छन् । आफ्नो मतदान केन्द्र भन्दा वाहिर रहेका मतदाताहरु धमाधम आफूले पाएको मताधिकार प्रयोग गर्नका लागि गन्तव्यतर्फ गइरहेका छन् ।
अधिकांश स्थानमा निर्वाचनका लागि खटिएका कर्मचारीहरु कार्यस्थलमा पुगिसकेका छन् भने केही ठाउँमा पुग्दैछन् । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सार्वजनिक गरेको प्रतिवेदनमा पनि भोलि हुने निर्वाचनमा मताधिकार प्रयोग गर्न मतदाता उत्साहित भएको उल्लेख छ।
जियोकले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको हो।

मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको जियोकले बताएको छ । राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिएका छन्।