Indrenionline.com

एमालेको झण्डा जलाएपछि आयोगले सोध्यो रास्वपा दाङका सभापतिलाई २४ घण्टे स्पष्टीकरण

दाङ । फागुन ७ गते साँझ तुलसीपुरमा रास्वपा समर्थकहरुले नेकपा एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएपछि निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङका जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ ।

चुवान चिह्न अंकित पार्टीको झण्डा जलाएको र एमाले पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा आयोगमा सूचना-उजुरी प्राप्त भएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगको स्पष्टीकरणपत्रमा रास्वपाका तर्फबाट आयोजित चुनावी कार्यक्रममा एमालेका अध्यक्षका विरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी भएको हो वा होइन ? भन्ने विषयमा पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।

आचारसंहिताको दफा ४ को खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने उल्लेख छ । कुनै पनि दलको झन्डा जलाउने र अन्य दलका जो कोहीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गर्ने कार्य निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको पनि आयोगले स्मरण गराएको छ ।