बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ का १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकायको ज्यान गएको हो ।
मैसरा नेपाल–भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतको वनतर्फ लगेको थियो। पछि दशगजा नजिक अरहर बारीमा उनको शव फेला परेको थियो ।
त्यस्तै रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका ११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेका थिए । रोकाय श्रीमतीसहित चार जना सामुदायिक वनमा पुगेका थिए। वनमा पुग्नेबित्तिकै चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन्। गत माघ ७ गते सोही स्थानमा तोरी उखेल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो।
