दाङ । नेकपा एमालेले दाङको क्षेत्र नं. १ र २ लाई बाँकी राखेर ३ मा धनश्याम पाण्डेलाई उम्मेदवार तोकेको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यका लागि प्रत्येक्षतर्फ पाण्डेलाई टिकट दिएको हो । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन् ।
क्षेत्र नं. २ मा एमाले महासचिव शंकर पोख्रेल उठ्ने चर्चा चलिरहदा एमालेले यहाँ उम्मेदवार तोक्न बाँकी राखेको हो । दाङ मात्रै नभएर धेरै जिल्लामा एमालेले उम्मेदवार तोक्न बाँकी राखेको छ ।
एमालेको हिजो शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले १६५ सिटमध्ये १४० सिटमा उम्मेदवार टुंगो लगाइसकेको छ । बाँकी उम्मेदवार छनोटका लागि अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिइएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते मनोनयन हुँदैछ ।
