काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) बिच हुने भनिएको पार्टी एकता अन्त्यमा ब्रेकप भएको छ ।
रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक घिसिङले राखेका विभिन्न अडान रहेको दाबी गरेको छ भने उनेपा पक्षले आफूहरूले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्नेमा रास्वपाले असहमति जनाउदा एकता भाँडिएको दावी गरेको छ ।
पुस १४ गते रास्वपा र उज्यालो नेपालबीच पार्टी एकता गर्नेसहितका ७ बुँदे सहमति भएको थियो । तर एकताको सहमति भएको १२ दिनमै ब्रेकप भएको छ । घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका रास्वपा पक्षले जनाएको छ ।
यता उनेपाका नेताहरूले भने रास्वपाले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीताका मुद्दामा अस्पष्ट रहेकाले एकता भाँडिएको जनाएको छ । ‘मूल विषय भनेको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीका मुद्दा हुन् । यी मुद्दामा रास्वपा प्रस्ट हुन सकेन । अस्पष्टबिच पार्टीमा सँगै जान सकिएन,’ एक नेताले भने ।
एकता भाँडिएपछि उज्यालो नेपालको आज बसेको केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष घोषणा गरेको छ ।
रास्वपाको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले उनेपासँग भएको सहमति खारेज गरेको छ ।
एकताको सहमतिसँगै उनीहरुले भागवण्डामै आ आफ्ना पक्षबाट प्रतिनिधि सभा चुनावका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची पेश गरेका थिए । त्यस्तै कुलमानले रास्वपासँग पार्टी एकता गर्नका लागि केही दिन पहिले मात्रै उर्जा तथा जलस्रोत मन्त्रीबाट राजीनामा दिएका थिए ।
