काठमाडौं । संस्थापन पक्षले समयमा नियमिति अधिवेशन गर्नेमा आनाकानी गरेपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । काठमाण्डौको भृकुटीमण्डमा पुन २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारीको काम तीब्र बनाइएको छ ।
विशेष महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू भैरहेको छ । आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
भोलि दिउँसो १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुनुअघि सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलबाट जुलुस प्रदर्शन गर्न लागिएको छ । विशेष महाधिवेशनको पक्षमा बहुमत पुग्न नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरे पनि ५० प्रतिशत बढीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।
