Indrenionline.com

रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव कुलमानको पार्टीले स्वीकारेन

काठमाडौँ । उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपा सभापति रवि लामिछाने बन्ने र चुनावपछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) हुने प्रस्ताव अस्वीकार गरेको छ ।

उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो ।

एकताका लागि भनेर आएको प्रस्तावमा संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी के कति हुने भन्ने ठोस प्रस्ताव नआएको र आफ्नो कुरा मात्रै राखिएको भन्दै सभापति रवि लामिछाने हुने र प्रधानमन्त्री बालेन हुने प्रस्ताव अस्वीकार गरिएको हो । तर नयाँ राजनीतिक शक्तिबीच एकताको प्रयास भने जारी राख्नेबारे छलफल भएको छ ।

उता ५०/५० हिस्सामा रवि र बालेनको पनि कुरा मिलेको छैन । रास्वपाले पार्टी सभापति रवि र चुनाव चिह्न घण्टी रहेने प्रस्ताव गरेपछि बालेनले पनि सबैमा ५०/५० को हिस्सा मागेका थिए । रास्वता बालेनलाई ५० हिस्सा दिने पक्षमा देखिएको छैन भने बालेन त्यो नभए नमान्ने पक्षमा छन् ।