काठमाडौं । नेकपा एमालेका ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका ईश्वर पोख्रेललाई फराकिलो मतान्तरले हराउदै तेस्रो कार्यकालका लागि ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनको अन्तिम मतपरिणाम अनुसार ओली १ हजार ६६३ मत ल्याएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत प्राप्त गरे ।
२०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै पहिलो पटक अध्यक्ष भएका थिए । त्यसपछि उनी चितवनमा सम्पन्न दशौं महाधिवशेनमा भिम रावललाई हराउदै दोस्रो कार्यकालका लागि अध्यक्ष भएका थिए ।
२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका ओली सानै उमेरमा आमा गुमाएपछि हजुरआमा (राममाया ओली) को छत्रछायामा हुर्किएका थिए । १७ वर्षको उमेरमा वामपन्थी आन्दोलनमा सहभागी भएका ओली २२ वर्ष पूरा नहुँदै १४ वर्षे जेल जीवन बिताएका संघर्षशील नेता हुन् ।
