बाँके । यसवर्ष मंसिरमै चिसो बढेर गएको छ । दिउँसो घाम लागेपनि विहान र बेलुका चिसो छ । विशेषगरी तराइँका जिल्लाहरुमा अवेरसम्म हुस्सु लाग्ने भएकाले त्यहाँ चिसो बढी छ । बाँके जिल्लामा शितलहरबाट यस वर्ष करिब एक लाख ८० हजार सर्वसाधारण प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शितलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको बताए ।
शितलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिका रहेको जनाउँदै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा अन्य पालिकाभन्दा कम प्रभावित हुने अनुमान गरिएको छ ।
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शितलहरबाट नेपालगन्जमा ८ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने देखिएको छ ।
त्यस्तै, बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शितलहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
विपद व्यवस्थापन समितिका अनुसार प्रस्तुत तथ्याङ्क विषेश गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्कता भएका तथा २०७१, २०७४ र २०७९ सालको बाढीबाट पूर्ण प्रभावित परिवार भई घरवारविहीनको तथ्याङ्कको आधारमा रहेको छ ।
