काठमाडौं । भदौ २३ र २४ गते जेनजीका नाममा भएको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान समेत गरिएको छ । प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।
आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
प्रतिवेदनअनुसार दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ । आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
