दाङ । डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दाङको लमहीमा दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस दुर्घटना भएको हो । बस पुलबाट खोलामा खसेको छ ।
आज बिहान करिब ३ बजे दर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएको र सबैको उद्धार गरेर उपचारका लागि लमहीस्थित लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये २ जनालार्इ थप उपचारको लागि बाहिर पठाउनुपर्ने अवस्था देखिएको प्रहरीले जनाएको छ । बसमा ३८ जना यात्रु सवार भएको खुलेको छ । बस पट्टा भाँचिएर खोलामा खसेको बताइएको छ । घटनाको थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।
