काठमाडौं, २० मंसिर । अपांगताको सेवामा अग्रणी संस्था नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको यहि मंसिर १९ र २० गते काठमाडौंमा भएको साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका कार्यवाहक अध्यक्ष चन्द्र तिमिल्सिनाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले यज्ञप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिको प्रथम उपाध्यक्षमा शरद अधिकारी, द्वितिय उपाध्यक्षमा धर्मराज पन्त, महासचिवमा शिवचन्द्र शाह, कोषाध्यक्षमा सुरेश श्रेष्ठ, उप महासचिवमा ताराबदन सेंढाई र उप कोषाध्यक्षमा भावुकजंग थापालाई चयन गरियो ।
सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिका सदस्यहरुमा रामचन्द्र जोशी (कैलाली), इन्द्र कुमार झा (धनुषा), सुष्मा वि.क.(बाँके), बलराम सुवेदी (धनुषा), गोपाल श्रेष्ठ (झापा) भुमा चौधरी (दाङ), गोविन्द खनाल (काठमाडौं), सतिश अधिकारी (बाँके), र अन्नु कुमारी महासेठ (धनुषा) हुनुहुुन्छ ।
२७ सदस्यीय केन्द्रिय समितिमा चारजना पछि मनोनित गरिनेछ भने झापा, धनुषा, काठमाडौं, बाँके, दाङ र कैलाली शाखाका अध्यक्षहरु पदेन सदस्यका रुपमा रहने बैधानिक व्यवस्था रहेको छ । नेपाल भर रहेका सवै शाखाबाट उपस्थिति सभासदहरुबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो ।
बन्द सत्रमा नेपाल अपांग संघका महासचिव शिवचन्द्र शाहले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालध्वज कार्कीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराल लामाले नेपालमा अपांगहरुका लागि अभिभावक संस्थाका रुपमा रहेको नेपाल अपांग संघको नयाँ नेतृत्वले सवैको भावना समेटेर काम गर्ने विश्वास व्यक्त गरे ।
बन्द सत्रमा नेपाल अपांग संघका पूर्व केन्द्रिय अध्यक्ष तथा कोशी प्रदेशका सांसद मोहन महर्जनले नयाँ कार्यसमितिले गर्नुपर्ने काम कर्तव्य र अधिकारका विषयमा अवगत गराएका थिए ।
अध्यक्षमा यज्ञप्रसाद उप्रेती चयन
दुई दिन भएको साधारण सभा तथा निर्वाचन पछि चयन गरिएको कार्यसमितिका अध्यक्ष यज्ञप्रसाद उप्रेतीलाई निवर्तमान कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै उप्रेतीले सवैको विचार र भावना समेटर नयाँ कार्यसमिति अघि बढ्ने बताए । उनले नेपालभरका अपांगहरुको आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपाल अपांग संघको सेवा प्रभावकारी र गुणस्तरिय बनाउने योजना सुनाए ।
यसैगरी महासचिव शिवचन्द्र शाहले पनि शनिबार नै कार्य प्रारम्भ गर्नुभयो भने कोषाध्यक्ष सुरेर श्रेष्ठले पनि पदभार ग्रहण गरे । यसैबीच नेपाल अपांग संघको ३७ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि भूमिका खेल्ने काठमाडौं जिल्ला शाखा लगायत सवैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
