Indrenionline.com

चुनावमा जाने कांग्रेसको निर्णयसँगै एमालेमा दबाब

काठमाडौं । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक र स्पष्ट रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै रहेको ठहर गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।

लोकतान्त्रिक शक्ति मानिने कांग्रेसको चुनावकेन्द्रित निर्णयले चुनावमा जान आनाकानी गरिरहेको विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो शक्ति एमालेमाथि दबाब परेको छ । एमालेले संसद पुनर्स्थापनामा कांग्रेसको सहयोग माग्दै आएको छ ।

२१ फागुनको निर्वाचनका लागि दल दर्ताको समय चार दिन मात्रै बाँकी रहँदा निर्वाचनमा जाने संस्थागत निर्णय गरेको कांग्रेसले शान्ति–सुरक्षामा भने गम्भीर चासो व्यक्त गरेको छ । ‘निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग समेत गरेको छ ।

प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य गरेको छ । अहिलेको सरकार संविधानबाहिरबाट गठन भएको आरोप लगाए पनि एमालेले चुनावकेन्द्रित सरकारी बैठकमा भाग लिँदै आएको छ ।