Indrenionline.com

दाङमा २० प्रतिशत किसानले धान भित्र्याउन बाँकी, वर्षाले धान खेतमै भिजेपछि किसान चिन्तित

सन्तोष दहित
दाङ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुलीका किसान भीमबहादुर चौधरीले धान काटी सकेर थ्रेसरमा हाल्ने तयारी गर्दै खेतबाट खल्यानमा राखिसकेका थिए । तर, सोमबार रातिदेखि लगातार परेको वर्षाले उनले थ्रेसर लगाउन पाएनन् । बिहीबार रातिदेखि वर्षा परेपछि न राति सुत्न सकें, न धान घरमा ल्याउन सकें” चौधरीले भने, “आज बिहानैदेखि पानी पर्न थालेको छ, अब सबै धान खेतममै उम्रिने भयो ।”

उनका अनुसार हेकुलीका अधिकांश किसानको धान खेतमै डुब्ने अवस्थामा पुगेको छ। “यहाँ करिब चारसय विघा जमिनमा धानखेती हुन्छ” उनले भने, “केही किसानले धान घरमा भित्र्याए पनि धेरैको धान अझै खेतमै छ। मैले १० कठ्ठा खेतमा धान लगाएको छु, यहीबाट पाँच जनाको परिवार पाल्छु, तर अहिले पाँच कठ्ठाको धान खेतमै डुबिरहेको छ।”

त्यस्तै सोही गाउँका किसान इटलाल चौधरीले पनि उस्तै समस्या सुनाए। “धान काटेर थ्रेसर लगाउने तयारीमा थियौं, तर भित्र्याउन नपाउँदै हिउँदे वर्षाले सबै डुबाउने होकि भन्ने डर लागेको छ” उनले भने।

यो समस्या भिमबहादुर र इटलालको मात्रै होइन । काटेर ठिक्क पारेको धान स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि दाङका किसानहरू चिन्तित बनेका छन्। सोमबार रातिदेखि आएको झरी बुधबार दिउँसो घाम लागेपछि काटेको धान स्याहार गर्न किसानहरू जुटेका थिए । बिहीवार बिहानदेखि पुनः बर्षाको झरी लागेपछि काटेको धान खेतमै उम्रिने डरले किसानहरू चिन्तित छन् ।

कृषि ज्ञान केन्द्र घोराहीका अनुसार दाङमा करिब २० प्रतिशत किसानले अझै धान भित्र्याउन बाँकी छ। “देउखरीलगायतका क्षेत्रमा करिब ८० प्रतिशत किसानले समयमै धान भित्र्याएका छन्,” सूचना अधिकारी पृथ्वीराज लामिछानेले भने, “तुलसीपुर, दंगीशरण, बबई र घोराहीका केही क्षेत्रमा वर्षाले २० प्रतिशत किसानको धानखेतमा असर गरेको छ ।”

उनका अनुसार काटिसकेको धानमा लगातार तीन दिनसम्म पानी परेमा करिब ८० प्रतिशतसम्म क्षति हुनसक्ने अनुमान गरिएको छ। “यदि शुक्रबारसम्म पानी रोकिएर दिउँसोसम्म घाम लाग्यो भने त्यति ठूलो असर नगर्ला” लामिछानेले भने, “अझै वर्षा जारी रह्यो भने किसानहरूलाई ठूलो आर्थिक क्षति पुग्ने निश्चित छ।” दाङमा यस वर्ष करिब ३५० हजार हेक्टर जमिनमा धान रोपाइँ गरिएको थियो।