Indrenionline.com

आज बडादशैँ, टीकाको साइत ११ : ५३ बजे

काठमाडौं । आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पौराणिक मान्यता अनुसार त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको विश्वास छ ।

यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एव्म दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।