Indrenionline.com

ओलीले भने- “यो हा-हुको सरकारलाई देश जिम्मा लगाएर हामी कतै भाग्दैनौं”

काठमाडौं । जेन–जी आन्दोलनलबाट सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । शनिवार युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको भेटघाटमा ओलीले वर्तमान सरकार हा–हुमा बनेको भन्दै देश यो सरकारलाई देश जिम्मा लगाएर आफूहरु विदेश नभाग्ने बताए ।

“भ्रष्टाचार ग¥यो भनेर हल्ला चलाएर हुँदैन, कहाँ भ्रष्टाचार ग¥यो, केमा कमिसन खायो, केमा घुस खायो ? त्यस प्रकारका अफवाह चलाएर हुँदैन । सरकारले विभिन्न प्रकारका हल्ला चलाइरहेको मैले सुनिरहेको छु । पासपोर्ट रोक्ने रु के ठानेको छ ?” ओलीले भने, “अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हा–हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि यो देशलाई हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ, सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था कायम गर्छौँ ।”

भ्रष्टाचार छानबिन गर्न र आफू प्रधानमन्त्रीमा रहँदा दिइएका सबैखालका निर्देशन र रेकर्डेड अभिव्यक्तिहरू जनताका बिचमा सार्वजनिक गर्न चुनौती दिँदै सरकारले अफवाह फैलाएको ओलीले दाबी गरे । “यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बिचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूको पनि ल्याओस्”ओलीले भने।

जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा राजीनामा दिएर सेनाको सुरक्षामा बसेका ओलीले सैनिक ब्यारेकबाट दश दिनपछि निस्किका थिए ।