काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै सरकारले ४५ जिल्लाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । दशैं, तिहार र छठ लक्षित गर्दै काठमाडौँ उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र तथा ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सहुलियत पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रले जानकारी दिएका छन् ।
त्यस्तै झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लमजुङ, मनाङ, जोमसोम, रूपन्देही, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, सुर्खेत, रुकुम पश्चिम, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला, कन्चनपुर, अछाम लगायतका ४५ जिल्लामा सहुलियत पसल सञ्चालनमा छन् ।
सहुलियत पसलहरुबाट सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । चिनी तथा सबै किसिमका दालहरू, चना, भटमास, केराउ तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ भने खाने तेल (तोरी, सनफ्लावर, भटमासको तेल) मा प्रतिलिटर सात रुपियाँ तथा चिउरा, आटा, पिठो, मैदामा पनि प्रतिकिलो सात रुपियाँ छुट दिइएको छ ।
यसैगरी, चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलो दस रुपियाँ छुट छ । जिउँदो खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकिलो दस रुपियाँ छुट दिइएको छ ।
