Indrenionline.com

इम्बोस्ड नम्बर प्लेट अनिवार्यले सर्वसाधारणमा सास्ती, आन्दोलनको घोषणा

काठमाडौं । लिखित र ट्रायल पास गरिसकेका २४ लाख नागरिकलाई पाँच वर्षदेखि सवारीचालक अनुमति–पत्र ९लाइसेन्स० दिन नसकेको सरकारले फेरि इम्बोस्ड नम्बर प्लेट जडानको अर्को झन्झट थपिदिएको छ । आवश्यक पूर्वाधार र तयारीविनै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको उर्दीले अनावश्यक सास्ती हुने भन्दै नागरिकस्तरबाट व्यापक विरोधसहित आन्दोलनकै घोषणा भएको छ ।

सरोकारवाला र विज्ञहरूका अनुसार विवादास्पद बनेको र झन्डै साढे पाँच अर्बको इम्बोस्ड नम्बर प्लेट परियोजना ‘अनियमितता र कमिसन’सँग जोडिएको छ । यो ठेक्का नौ वर्ष पुरानो हो । देशभर करिब ५८ लाख सवारीसाधनमध्ये पछिल्लो पाँच वर्षमा ९० हजारमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । पाँच वर्षमा एक लाख पनि जडान गर्न नसकेको सरकारले अहिले एकैपटक २५ लाख सवारीसाधनमा जडान गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

३ भदौमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नेसम्बन्धी सूचना जारी गरेको सूचनामा भनिएको छ, ‘सबै प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयहरूबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकाले सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

गत २० साउनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयअनुसार विभागले सूचना जारी गरेको हो । यसअघि पनि विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको सूचना पटकपटक जारी गर्दै आएको छ । तर, सरकारले एकपछि अर्को दुःख थप्ने गरेको भन्दै यसमा सर्वसाधारणले रुचि देखाएका छैनन् ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा। दीपेश केसीले जानकारी दिए।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा। केसीले चेतावनी दिए।

देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने उनले ठोकुवा गरे। उनले भने, ‘अर्बौँ कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने, देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।’ उनले सत्ताको दुरुपयोग गरी आमनेपाली नागरिकलाई मातृभाषा मेटाउने ग्रान्ड डिजाइनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिकार गर्न आह्वान गरे। नयाँ पत्रिकाबाट