Indrenionline.com

आजको मौसम : केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा डोटीको झिग्रानमा १२.६ मिलिमिटर वर्षा भएको छ भने इलामको बर्फल्याङमा ९.८ मिलिमिटर वर्षा मापन भएको छ। दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। यद्यपि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।