काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धन सरकार तत्काल पछि हटेको छ । राना हाल अमरिका भ्रमणमा रहेकाले उनी नआउँदासम्मका लागि महाअभियोग गलाएर हटाउने प्रस्तावमा पछि हटेको हो ।
आज सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेको छ । उपसभामुख भदौ १३ गतेपछि मात्रै स्वदेश फर्कने छिन् ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको र यो विषयमा उठेका प्रश्नहरूलाई निष्कर्षका पुर्याउनका लागि खुला ढंगले छलफल गर्ने बताए।
रास्वपाबाट निर्वाचित रानालाई पहिलेदेखि नै सत्तारुढ नेकपा एमाले र कांग्रेसको एक पक्ष उपभामुखबाट जसरी पनि हटाइ छाड्ने पक्षमा छ । कांग्रेसमा शेखर कोइराला पक्ष भने यसको विरुद्धमा छ । रानालाई उपसभामुखबाट हटाउने विषयमा प्रतिपक्ष दलहरुले पनि कडा प्रतिवाद गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
