बाँके । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर र २२ लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका १४ उधैपुरवाका २८ वर्षीय रमेश लोनियालाई १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नेपाली तथा भारती गरी २२ लाख तीन हजार ९१५ नगदसहित पक्राउ गरेको हो ।
रमेशलाई मंगलबार १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद नेपाली २२ लाख तीन हजार ९१५ लगायत अन्य सामग्रीहरुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
त्यस्तै लोनियाको साथबाट भारतीय नम्बर प्लेट भएका दुई थान मोटरसाइकल, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औँठी ३३ थान, सिक्का २१ थान, कानमा लगाउने रिङ ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पायल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रासलेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान र टुक्राहरु साना ठुला ११ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुन जस्तो देखिने पहेँलो धातुका कडा ६ थान, घाँटीमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औँठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान, रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मङ्गलसुत्र ५ थान, पहेँलो धातु जञ्जिर २ थान बरामद गरिएको सूचना अधिकारी पातलीले बताए । त्यस्तै ५ थान खुकुरी, क्यानन डिएसएलआर क्यामरा १ थान र विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल १० थानसमेत बरामद गरिएको छ ।
