काठमाडौं । गत साता भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासले उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूची सार्वजनिक गरेको छ ।
दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । त्यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै बर्दियाको मधुवन नगरपालिका ५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या, छोरा रोमन र अमृता परियार तथा गुलरिया नगरपालिकाका सुवास दमाई रहेका छन् ।
बाढीले धरालीका दर्जनौँ घर तथा होटेलहरु पुरिएका छन् भने कतिपय बगेर भागीरथीमा पुगेका छन् । धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ ।
