काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले मधेस, कोशी, लुम्बिनी लगायत प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा धनुषाको तुलसीमा १०३.२, सर्लाहीको परवानीपुरमा ८१.२, सिन्धुपाल्चोकको मानेखर्कमा ८८, कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा भएको छ।
आइतबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति मधेस प्रदेश लगायत कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
