Indrenionline.com

नक्कली प्रहरी बनेर मोवाइल चोरी गर्ने दुई जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । दाङ प्रहरीले मोवाइल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका १ घर भई हाल घोराही १५ शिववस्ती टोलमा बस्दै आएका २७ वर्षका जगत शाही र जुम्ला हिमा गाउँपालिका ६ घर भई घोराही १५ शिववस्ती बस्दै आएका २९ वर्षका दिपक अधिकारी रहेका छन् ।

उनीहरुले साउन १८ गते विहान घोराही १४ सिद्धार्थ टोलस्थित गिता न्यौपानेको डेराबाट ५६ हजार पर्ने भिभो कम्पनीको मोवाइल चोरी गरेको प्रहरीले जनाएको छ । मोवाइल चोरी गरेर डेराबाट वाहिरिदै गर्दा मोवाइल चोरी भएको सम्बन्धी सोधपुछ गर्दा आफूहरु नेपाल प्रहरीको असई भएको र मोवाइल नचोरेको भन्दै धम्की लिएका थिए । सो क्रममा दिपकले मोवाइलमा असईको पोशाकमा रहेको फोटो समेत देखाएका थिए ।

न्यौपानेले आफ्नो मोवाइल चोरी भएको र उनीहरुले दिएको धम्कीबारे प्रहरीमा जानकारी गराएपछि प्रहरीले उनीहरुको डेराबाट न्यौपानेको चोरी भएको मोवाइल समेत बरामद गरी दुबैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।