Indrenionline.com

भारतको उत्तराखण्डमा बाढीले धराली बजार बगायो

काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशीमा क्लाउड ब्रस्ट पछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार नै बगाएको छ ।

भारतीय समय अनुसार मंगलबार १ बजेर ३० मिनेटमा आएको बाढीले धराली बजारका धेरै घर गेग्रानमा पुरिएको र केही घरहरु बगेका छन् । बाढीमा परी अपराह्न ५ बजेसम्म ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले राहत र उद्धारका लागि जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा खटिएका समाचार एजेन्सीलाई बताएका छन् । धराली हर्सिलबाट २ किलोमिटर टाढा रहेको छ  । यो एक लोकप्रिय पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा लगातार दुई दिनदेखि पानी परिरहेको बताइएको छ ।