दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा सोमवार बाँसजन्य सामग्री उत्पादन गर्दै आएका उद्यमी बाबु रोकासँगको छलफलमा आचार्यले यस्तो बताएका हुन् ।
नवप्रवर्तनयुक्त योजनासहित स्थानीय स्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको पनि मुख्यमन्त्री आचार्यले बताए । “हामीले स्थानीय उत्पादन र उद्यमशीलतामार्फत समृद्धि हासिल गर्ने संकल्प गरेका छौं । स्थानीय स्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सीपमा आधारित रोजगार सृजना गर्न सरकार प्रतिबद्ध छ”, आचार्यले भने ।
बाँसजन्य उत्पादनजस्ता स्थानीय स्रोतमा आधारित उद्योगहरूमार्फत आम्दानी र रोजगारको सम्भावना धेरै रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियतमार्फत सहयोग गर्ने स्पष्ट पारे ।
सो क्रममा उद्यमी रोकाले बाँसजन्य सामग्री उत्पादनमार्फत स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको बताएका थिए । साथै उनले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यकता रहेकाले प्रदेश सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।
भूमिकास्थान–५, जोगिटारी हाल लमही नगरपालिका–४, अर्नहवा निवासी उद्यमी रोकाले बाँसका विभिन्न सामग्रीहरु उत्पादन गर्दै आएका छन् ।