Indrenionline.com

जङ्गली च्याउ खाँदा रुकुममा एकै परिवारका दुई जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

रुकुम । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो ।

साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए । अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई जिल्ला अस्पतालले साउन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो ।

योजनको हिजो मंगलवार दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उनकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाएको छ ।