काठमाडौं । मंगलबार मध्यरातसम्म चलेको केन्द्रीय कमिटीको बैठकको निर्णय सुनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, “राष्ट्रिय एकताको प्रतीक, संविधानको पालक र नेपाली सेनाको परमाधिपति भइसकेकाले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कनु हुँदैन ।”
अध्यक्ष ओलीले यो निर्णय सुनाएपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाए । ज्ञवालीले भण्डारीको एमालेमा पुनरागमनबारे केन्द्रीय सचिवालयबाट टुंग्याउनुपर्नेमा जोड समेत दिए। ज्ञवालीले भने, “अहिले हतार नगरौं, केन्द्रीय सचिवालय बैठकबाट यसलाई टुंग्याउन सकिन्छ, यस निर्णयले पार्टीभित्र निराशा बढ्छ, विरोधीको मनोबल उकासिन्छ ।”
अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि हतारमा निर्णय गर्नुभन्दा पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गरेर निष्कर्ष पुग्न सकिने बताए । दुई उपाध्यक्षले यति भनिरहदा यसअघि भण्डारीका पक्षमा खुलेरै लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने मौन बसे । तर बैठकमा भने उनले खुलेरै भण्डारीका पक्षमा कुरा राखेका थिए ।
पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आइसकेको घोषणा गरिरहदा एमालेले भने एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने प्रस्ताव पारित गरेको छ । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई हटाएर ओलीलाई पुनः पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णयले आउँदो भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
