Indrenionline.com

नेटवर्किङ मार्केटिङको नाममा करोडौं ठगी गर्ने पक्राउ

विरेन्द्रनगर । सुर्खेतमा प्रहरीले नेटवर्किङ मार्केटिङको नाममा करोडौं ठगी गरेको आरोपमा स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठगी गरेको आरोपमा प्रहरीले  डोटी सायल गाउँपालिका–२ का ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक २६ वर्षीय नरेश बोहोरा, कञ्चनपुर महाकाली नगरपालिका–२ का २२ वर्षीया मनिषा सिंह, कञ्चनपुरकै बेलडाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ की २२ वर्षीया कर्मचारी सुनिता साउद लाई पक्राउ गरेको हो ।

त्यसैगरी पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका–४ का २२ वर्षीया कमला चिमालादार्चुलाको महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, सोहीका २२ वर्षीय रवीन्द्र शाही रहेका छन्।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मुलपानी चोकमा स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि अन्तर्गत ‘ग्लोबल ओरियन्स नेपाल प्रालि’ ले बेरोजगार युवा युवतीलाई सीप सिकाउने र राम्रो तलब सुविधासहित रोजगारी दिने आश्वासन दिएर वार्षिक २० हजार असुली गरेको उजुरी परेको छ । नेटवर्किङ मार्केटिङमा नयाँ बन्ने सदस्यबाट खाना बस्ने सुविधा दिने आश्वासन दिएर प्रतिव्यक्ति ५० हजार देखि दुई लाख ६० हजारसम्म रकम अशुली गरेको पाइएको छ । विभिन्न समयमा विभिन्न ठाउँमा नेटवर्किङ मार्केटिङको नाममा ठगी हुने गरेकाले सचेत हुन पनि प्रहरीले आग्रह गरेको छ ।