Indrenionline.com

म सक्रिय राजनीतिमा आइसके खुट्टा कमाउँदिनँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा अघि बढिसकेको बताएकी छन् । मंगलबार दिउँसो पत्रकारहरूसँग भंगालस्थित निवासमा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढिसकेको र खुट्टा नकमाउने बताएकी हुन्।

“म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ”, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन आग्रह गर्दै भण्डारीले भनिन्, “बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ ।”

अहिले आफू सक्रिय राजनीतिमा फर्केपछि पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुन्न भनेर अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिने र नेताहरूलाई नबोल्न आग्रह गरिरहेको सुनिएको समेत उनले बताइन्। अध्यक्ष ओलीसँग आफूले सदस्यता नवीकरण भइसकेको र आफू सक्रिय राजनीतिमा अघि बढिसकेको कुरा पनि राखेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने घोषणासँगै एमालेमा केन्द्रदेखि तल्लो तहसम्म दुई धारमा विभाजन भइसहेको छ । केन्द्रमा अध्यक्ष ओलीतर्फ महासचिव शंकर पोख्रेललगायतका नेताहरु छन् भने भण्डारीतर्फ पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललगायतका नेताहरु खुलेरै लागेका छन् ।