Indrenionline.com

आज साउने (कर्कट) सङ्क्रान्ति पर्व

काठमाडौं । आज साउन १ गते । अर्थात साउने (कर्कट) सङ्क्रान्ति पर्व । आजको दिन स्नान, दान एवं आफन्त जम्मा भई यो पर्व रमाइलो गरेर मनाइन्छ । सूर्यले मिथुन राशीको भोग पूरागरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन आज साउने सङ्क्रान्तिका रुपमा मनाउने प्रचलन ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। आजका दिनलाई लुतो फाल्ने दिन पनि भन्ने चलन छ । नेपाल कृषि प्रधान देश भएकाले अधिकांश नेपाली कृषिमा आवद्ध हुन्छन् । असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने चलन छ ।

कर्णालीमा सार्वजनिक बिदा
कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिएका छन् ।

माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ ।

हरिया चुरा
नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ । यो महिनामा अधिकांश महिलाहरु हातमा मेहन्दी र हरियो चुरा लगाएर सजिन्छन् ।

हिन्दु नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनु फेसन नै बनेको छ । धार्मिक महत्वका हिसाबले साउन महिनामा हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गर्ने गरिन्छ ।