Indrenionline.com

खतराको सूचीबाट हट्यो लुम्बिनी

लक्ष्मण पौडेल
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । युनेस्को वल्र्ड हेरिटेज कमिटीको पेरिसमा भइरहेको ४७ औँ विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बैठकले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेको समेत ठहर गरेको छ ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ ।

बैठकमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने जानकारी दिए । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उक्त मिसनले दिएको प्रतिवेदनका आधारमा युनेस्कोले २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित ४६ औँ विश्व सम्पदा समितिको बैठकले लुम्बिनीलाई एक वर्षसम्म खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो । भारतले एक वर्षका लागि सुधार गर्ने मौका दिनुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेको थियो ।

उक्त बैठकमा सुरुमा १९ देशले भारतको प्रस्तावको स्वागत गरेका थिए । त्यस प्रस्तावको विरुद्धमा १२ बुँदे सुधारको खाका तयार गरिएको थियो । सो खाकाको आधारमा बिहीबार सम्पन्न सम्पदा समितिको २१ राष्ट्र सम्मिलित बैठकले नेपाललाई एक वर्ष मौका दिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सबै कुरालाई समेटेर काम गरेको र यसले राम्रो परिणाम दिएको भन्दै अब संरक्षणमैत्री कामलाई निरन्तरता दिने बताए ।

लुम्बिनीका सम्पदाको संरक्षण र व्यवस्थापन गर्न एकीकृत व्यवस्थापन संरचना ९इन्टिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क० निर्माण र त्यसलाई कार्यान्वयन गर्न विश्व सम्पदा क्षेत्रमा विभिन्न सेक्टर स्ट्राटेजी ९खण्डित रणनीतिक योजना० बनाएर काम थालेपछि युनेस्कोले सकारात्मक रूपमा लिएको छ । पाँच विषयमा पुरातत्व, भिजिटर व्यवस्थापन, प्राकृतिक प्रकोप, स्थानीय विकास र बौद्ध समुदायलाई समेटेर रणनीति बनाइएको हो ।

कोषका वरिष्ठ निर्देशक राईले लुम्बिनीको अद्वितीय विश्वव्यापी महत्वलाई जोगाउन धेरै मेहनत गरेर युनेस्कोले मागेका कुरा प्रतिबद्धतामा मात्र नभएर फिल्डमा पनि त्यसै अनुसारको काम गरेपछि अहिलेको सकारात्मक परिणाम आएको बताए । उनले भने, “विज्ञ, विशेषज्ञ बोलाएर वल्र्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स गरेकाले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाटै जोगाउन मद्दत मिल्यो ।”

कोषका सदस्यसचिव शाक्यले युनेस्कोले गरेका पुराना सिफारिस पनि अध्ययन गरी उनीहरूको चित्तदुखाइ केमा हो भनेर विश्लेषण गरिएको र एसओसी (स्टेट अफ कन्जर्भसन रिपोर्ट) पठाएकाले परिणाम सुखद आएको बताए गोखापत्रमा खबर छ । पेरिसमा जुलाई ६ देखि चलिरहेको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औँ बैठक जुलाई १६ मा समापन हुने छ ।